– अनन्त्य सुन्दर

काठमाण्डौ । कोरोनाका कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा अहिले धेरैजसो व्यापार–व्यवसाय ठप्प छन्। कतिपय व्यवसाय बन्द पनि भए। कतिपय बन्द हुने अवस्थामा छन्। 

कोरोना कहरको बाबजुद सुदन चुदाली र उनका सहयात्रीले आफ्नो व्यापारबाट मनग्गे कमाइ रहेका छन्। सुदनले विगत ५ वर्षदेखि नेपाली छुर्पी विदेश निर्यात गर्ने व्यवसाय सञ्चालन गरिरहेका छन्।

नेपालबाट सर्वाधिक निर्यात हुने वस्तुहरुको सूचीमा छुर्पी पनि पर्छ। तर, नेपाली व्यवसायीहरुले त्यसको माग पूर्ति हुने गरी निर्यात गर्न भने सकिरहेका छैनन्। पश्चिमीहरुले छुर्पीलाई ‘डग च्यु’ भन्छन्। कुकुरलाई छुर्पी अत्यधिक मनपर्ने भएकाले यसलाई डग च्यु भनिएको हो।

नेपाली समाजमा घरपालुवा कुकुरहरुलाई छुर्पी दिने चलन छैन। तर, छुर्पी कुकुरलाई मनपर्ने आहार भएकाले अमेरिका, क्यानडा, बेलायतजस्ता मुलुकमा कुकुरलाई छुर्पी दिइन्छ। सुदन भन्छन्, ‘अन्य छुर्पीहरुको तुलनामा नेपाली छुर्पी कुकुरले अत्यधिक मन पराउँछन्। नेपाली छुर्पी गुणस्तरीय हुनुका साथै यसमा प्रोटिन, एमिनो एसिड, फ्याट्टी एसिड लगायत अन्य थुप्रै पोषणयुक्त तत्वहरु अत्यधिक मात्रामा पाइने भएकाले यसको माग विश्व बजारमा उच्च भएको हो।’

नेपालमा अहिले पनि परम्परागत रुपमा छुर्पी उत्पादन गर्ने चलन छ। छुर्पी उत्पादन गर्दा कुनै पनि किसिमको केमिकलहरु प्रयोग गरिँदैन। त्यसैले स्वास्थ्य साथै गुणस्तरका कारणले पनि नेपाली छुर्पीको माग उच्च भएको हो। अहिले नेपालमा पूर्वीय भेगका जिल्लाहरु जस्तै झापा, इलाम, पाँचथरलगायत अन्य जिल्लाहरुमा छुर्पी उत्पादन गर्ने चलन छ। यी जिल्लाका ६० प्रतिशतभन्दा बढी किसानहरुको आयआर्जनको प्राथमिक स्रोत भनेको नै छुर्पी व्यापार हो। ‘नेपालमा छुर्पीको बजार त्यति राम्रो छैन। त्यसैले धेरैजसो किसानहरुले छुर्पी उत्पादन गर्न छोडिसकेका छन्। तर यही छुर्पीको बजार विश्वको अन्य मुलुकहरुमा विशाल छ। त्यसैले केही सहयात्री मिलेर हामीले नेपाली छुर्पी विश्व बजारमा पुर्याउने सोच्यौँ’, सुदनले भने।

सन् २०१६ मा नेपाली छुर्पी विश्व बजारमा पुर्याउने हेतुका साथ सुदन चुदाली, नरेन्द्र न्यौपाने र राज रेग्मीले ‘न्याटिभ नेपाली’ नामको व्यवसाय सञ्चालन सुरु गरे। ‘न्याटिभ नेपाली’ को अर्थ नेपालमा नै बनेको भन्ने बुजिन्छ। न्याटिभ नेपाली सुरु गर्नुको मुख्य उद्देश्य नै नेपाली किसानद्वारा उत्पादित छुर्पी विश्व बजारमा पुर्याउने रहेको कम्पनीका सञ्चालक सुदन चुदाली बताउँछन्।

‘सुरुआती दिनहरुमा व्यवसाय सञ्चालन गर्न हामीलाई एकदमै गाह्रो भयो’, उनले भने। 

न्याटिभ नेपालीका एक संस्थापक नरेन्द्र न्यौपानेको घर इलाम भएकाले समयसँगै व्यवसाय सञ्चालन गर्न सहज हुँदै गयो। इलाम नेपालको सर्वाधिक छुर्पी उत्पादन गर्ने जिल्लामा पर्छ। ‘संस्थापकको घर नै इलाम भएकाले छुर्पी उत्पादन साथै किसानहरुसँग समन्वय गर्न सहज भयो’, उनले भने। 

अहिले न्याटिभ नेपालीले अमेरिका, क्यानडा, सिंगापुर लगायत अन्य १५ मुलुकहरुमा छुर्पी निर्यात गर्दै आएको छ। नेपालमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सफल ‘न्याटिभ नेपाली’ ले नेपाल सरकार साथै अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानहरु पनि पाएको छ। ‘मासिक रुपमा ८० हजारदेखि १ लाख केजीसम्म छुर्पी निर्यात गर्दै आएको छौँ। तर यसको माग अझ धेरै छ। त्यसैले यस व्यवसाय ठूलो सम्भावना लुकेको छ’ सुदनले भने, ‘अमेरिका, क्यानडाजस्तो मुलुकमा छुर्पी निर्यात गर्दा कर नलाग्ने भएकाले निर्यात गर्न सहज भएको।’

कोरोना कहर सुरु भएसँगै अहिले अधिकांश व्यवसायलाई असर गरेको छ। तर न्याटिभ नेपालीले भने कोरोनाको बाबजुद आफ्नो व्यवसाय सञ्चालन गरी मनग्गे कमाइ गर्दै आएको छ। ‘न्याटिभ नेपालीको आउने दिनमा अन्य देशहरुमा पनि आफ्नो व्यापार विस्तार गर्नुका साथै सयौँको संख्यामा रोजगारी सिर्जना गर्ने योजना रहेको’, सुदनले बताए।