काठमाण्डौ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५८ करोड १८ लाख रुपैयाँ खुद नाफामा आर्जन गर्न सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा अघिल्लो वर्षको तुलनामा ३६.३३ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले ९१ करोड ३८ लाख खुद नाफा कमाउन सफल भएको थियो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

प्रथम त्रैमासमा बैंकको सञ्चालन मुनाफा ६१ करोड ४ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा १ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्ष ब्याज आम्दानी १ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार ०.६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिमा १३ अर्ब ३४ करोड रुपैयाँ रहेको रिभर्जमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा घटेर १३ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ ।