काठमाण्डौ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार यही असार २७ गतेबाट सुरु हुने भएको छ। 

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु गर्न लागेको हो। प्राप्तिपछि दुवै फाइनान्स गाभिएर बनेको संस्थाको नाम नेपाल फाइनान्स लिमिटेड नै रहनेछ। ललितपुर फाइनान्स १ः१ अनुपातमा नेपाल फाइनान्समा विलय हुने भएको हो।

गत जेठ २८ गतेसम्म दुवै फाइनान्सको विशेष साधारणसभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको थियो। यी दुवै फाइनान्सको प्राप्ति प्रक्रियाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गत असार १५ गते र कम्पनी रजिस्ट्रार कार्यालयबाट असार १८ गते अन्तिम स्वीकृति प्राप्त गरेको थियो। 

एकीकृत कारोबार सञ्चालन प्रयोजनार्थ दुवै फाइनान्सको विवरण एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकोले असार २५ गते मध्याह्न १२ः३० बजेदेखि असार २६ गतेसम्म दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण सेवा बन्द रहने पनि जनाइएको छ।