काठमाण्डौ । कोभिड महामारीबीच गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यापार सन्तोषजनक देखिएको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३१ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन २७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय ३७.५३ प्रतिशतले बढेर ७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ५ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब ९७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च १.८६ प्रतिशत घटेर २ अर्ब ४३ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २ खर्ब ४८ करोडरुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर १ खर्ब १२ अर्ब रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा ८७ अर्ब २ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ५० करोड रुपैयाँको रिजर्भको आकार ७१.०३ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँमा सीमित बनेको छ। 

चौथो त्रैमासमा कम्पनीको नाफा १.०५ प्रतिशतले बढेर ५३ करोड ५९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा ५३ करोड ३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या १३ लाख ८१ हजार ४३३ पुगेको छ। अघिल्लो वर्ष यो संख्या १३ लाख ४ हजार ६३२ रहेको थियो।

चुक्तापुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १२.७५ रुपैयाँ, पीई रेसियो ७४.८० गुणा र प्रतिसेयर नेटवर्थ १३७.०७ रुपैयाँ रहेको छ।