काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको चैतसम्ममा खुद नाफा ४३ करोड ५७ लाख ८६ हजार ६ सय ३८ रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४० करोड ९६ लाख ७४ हजार ९ सय ७४ खुद नाफा आर्जन गरेको थियो । गत वर्षका तुलनमा कम्पनीले यस वर्ष करीब ६ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो । 

कम्पनीले यस वर्षको पहिलो नौ महिनाको अवधिममा १५ अर्ब ८६ करोडभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष कम्पनीले १० अर्ब ४२ करोड आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको आम्दानी ३२ प्रतिशतले बढेको तस्रो त्रैमासिक अवधिको वित्तीय विवरणमा उल्लेख छ । 

गत वर्षको तुलनामा यस वर्ष आम्दानीसँगै खर्च पनि निकै बढी हुँदा कम्पनीको खुद नाफा ६  प्रतिशतले मात्र बढेको हो । गत वर्ष ४ अर्ब २९ करोड मात्र खर्च गरेको कम्पनीले यस वर्ष त्यस्तो खर्च ७ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ ।

यस आवको पहिलो नौ महिनाको अवधिमा कम्पनीले १ करोड ७ लाख ७५ हजार रुपैया बिमाशुल्क आर्जन गरेको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले ७९ लाख ४४ हजार बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले हालसम्म ११ लाख १२ हजार ५ सय ७९ वटा बीमालेख जारी गरेको छ । 

बचतकोषमा ८ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९  करोड रुपैयाँ तथा जगेडा कोषमा ३ करोड ४८ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ४७ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी १३ दशमलव २१ रुपैयाँ रहेको कम्पनीमा प्रतिशेयर नेटवर्थ १ सय ८६ दशमलव ५५ रुपैयाँ छ ।