काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको १३ लाख कित्ता बढी सेयर आज असार २० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिएको छ। 

नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकको कुल १३ लाख १६ हजार ८७१ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको सेयरमध्ये नेपाल लाइफ इन्स्योरेन्सको न्यूनतम प्रतिकित्ता ७०० रुपैयाँ र एनआईसी एसिया बैंकको ४२५ रुपैयाँ कायम गरिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सोभन्दा माथि १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति असार २७ गते बैंकिङ समयसम्म तोकिएको छ।