काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४१ लाख खूद नाफा आर्जन गरेको छ । 

कम्पनीले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा खूद बिमा शुल्क आर्जन ५ अर्ब ४३ करोडको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन ३ अर्ब ७५ करोडमा सीमित थियो ।

कम्पनीले पोलिसी संख्यामा समेत निकै राम्रो बढोत्तरी गर्ने सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो संख्या १० लाख ९४ हजार रहेकोमा त्यो बढेर यो वर्ष ११ लाख ८१ हजार पुगेको छ । 

समीक्षा अवधिसम्म नेपाल लाइफको चुक्तापूँजी ४ अर्ब ३९ करोड रहेको छ भने रिजर्बमा ३ अर्ब ६५ करोड सञ्चित रहेको छ । 

कम्पनीको जीवन बिमा कोषमा पनि निकै राम्रो बढोत्तरी भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा ४३ अर्ब ३६ करोड रहेको कोषका आकार बढी ५४ अर्ब ४३ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी  १८ रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ १९१.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.१२ गुणा कायम भएको छ ।