काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले कुल बिमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशतको बजार हिस्सा हासिल गरेको छ।

देशका बिमा कम्पनीहरुको कुल बिमा शुल्क आम्दानीमा नेपाल लाइफ एक्लैको बजार हिस्सा ३२ प्रतिशतको हाराहारीमा पुगेको हो । 

यो कम्पनीको शनिवार वीरगञ्जमा सम्पन्न १९ औं वार्षिक साधारणसभामा आफ्नो वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले यस्तो आँकडा प्रस्तुत गरेका हुन् । 

अध्यक्ष संघईका अनुसार हाल यस कम्पनीको लगानी रु ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । 

कम्पनीमा १,२२,००० भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।  

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।     

हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । 

यसैबीच, कम्पनीको साधारणसभाले यसअघि संचालक समितिबाट भएको निर्णयलाई अनुमोदन गर्दै शेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२३.५० (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार ८१० रुपैयाँ पुगेको छ । 

सभाबाट आ.व.२०७४/०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ ।