काठमाण्डौ । हालसम्मको सार्वजनिक निश्कासनमध्येको सबैभन्दा महंगो दरमा स्वीकृत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोको एफपीओमा आगामी पुस  २७ गतेदेखि आवेदन दिन पाइने भएको छ । 

बिक्री प्रबन्धकको काम गरिरहेको सिद्धार्थ क्यापिटलस्थित स्रोतका अनुसार आगामी पुस २७ गतेदेखि एफपीओमा आवेदन खुलाउन लागिएको हो । एफपीओमा माघ २ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइनेछ । ‘एफपीओको सम्पूर्ण विवरणसहितको आह्वानपत्र मंगलबार सार्वजनिक गरिनेछ ।’–स्रोतले भन्यो । 

नेपाल धितोपत्र बोर्डले बित्तीय रुपमा निकै राम्रो मानिएको र बिमा क्षेत्रमा हटकेक बन्दै आएको नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता एफपीओ प्रिमियम मूल्यसहित प्रति कित्ता १ हजार ४ सय २५ रुपैयाँमा निश्कासनको अनुमति दिइसकेको छ । 

२०७३ जेठ ७ गते सम्पन्न यो बिमा कम्पनीको १६ औं वार्षिक साधारणसभाले ३० लाख ९६ हजार कित्ता सेयरको एफपीओ गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसपछि उसले नेपाल धितोपत्र बोर्ड असोज ६ गते एफपीओ निश्कासनको अनुुमति माग्दै पत्राचार गरेको थियो । बोर्डले चार दिनअघि एफपीओ निश्कासनको अनुमति दिएको हो । 

कम्पनीको २ सय २४ औं बोर्ड बैठकले एफपीओ निश्कासनको निर्णय गर्दै आफूूखुशी प्रति कित्ता मूल्य प्रिमियमसहित २ हजार ९ सय ५१ रुपैयाँ तोकेको थियो । तर यो कम्पनीले मनलागी एफपीओ मूल्य तोकेको र नियामकको अनुमतिबिना नै प्रति इकाई प्रिमियम मूल्य तोकिएको भन्दै धितोपत्र बोर्डले जेठ २८ गते नेपाल लाइफको कारोबार निलम्बन गरेको थियो । 

नेपाल लाइफले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी २ अर्ब १६ करोड रुपैयाँ छ । एफपीओपछि चुक्तापूँजी २ अर्ब ४७ करोड पुुग्नेछ।

सिद्धार्थ क्यापिटल लिमीटेडको प्रधान कार्यालय, सिद्धार्थ बैंकका काठमाण्डौ र देशभरका शाखा कार्यालय लगायतका ठाउँहरुबाट सर्वसाधारणले एफपीओ भर्न पाउने व्यवस्था मिलाइनेछ ।