काठमाण्डौ । चर्चाको शिखरमा रहेको र कयौं लगानीकर्ताले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा आजदेखि आवेदन खुलेको छ । 

नेपाल लाइफले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओका लागि आजबाट आवेदन खुलाएको हो । बिहानैदेखि तोकिएको आवेदन संकलन केन्द्रहरुमा सर्वसाधारण लगानीकर्ताको निकै ठूलो भीड देखिएको छ । 

नेपाल लाइफले प्रिमियम मूल्यसहित प्रति कित्ता १ हजार ४ सय २५ रुपैयाँ दरमा एफपीओ निश्कासन गरेको हो । कम्पनीको शेयर मंगलबार शेयर बजारमा प्रतिकित्ता दुई  हजार ८ सय असी रुपैयाँमा कारोबार भएको थियो।

एफपीओका लागि आवेदन दिने समय माघ २ गतेसम्म तोकिएको छ । त्यतिबेलासम्म पनि माग अनुसारको एफपीओको प्रस्ताव नपरे अधिकतम मिति माघ १२ लाई तोकिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार ९ सय ६० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

सिद्धार्थ क्यापिटल लिमीटेडले नेपाल लाइफको एफपीओ निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको काम गर्दैछ । बिक्री प्रबन्धकका अनुसार लगानीकर्ताले यो एफपीओमा आस्वा सिस्टम अन्तर्गत आवेदन दिन पाउने छैनन् । 

यो बिमा कम्पनीको हाल चुक्तापूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी २ अर्ब ४७ करोड पुग्नेछ भने रिजर्ब कोष बढेर ४ अर्ब १ करोडको हुनेछ । 

नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा कमाएको थियो । 

कहाँ-कहाँबाट भर्ने आवेदन ?
एफपिओमा सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका देशभरका शाखा तथा केही एक्सटेन्स काउण्टरहरु, लक्ष्मी क्यापिटल, एनआईबिएल क्यापिटल, कृति क्यापिटल, काठमाडौँ क्यापिटल, एस क्यापिटल, सिबिआईएल क्यापिटल, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई क्यापिटल, तिनाउ विकास बैंक, पूर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र यती डेभलपमेन्ट बैंकलगायत बाट आवेदन दिन सकिनेछ ।