काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १८.८९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । 

चौथो त्रैमास विवरणअनुसार बैंकले १ अर्ब ५९ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । 

समीक्षा अवधिमा बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफातर्फ बैंकले १३.८४ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब २ करोड रुपैयाँ थियो । 

यस्तै बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ । 

अघिल्लो वर्ष २ अर्ब ७६ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफालाई बढाएर बैंकले ३ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै अघिल्लो वर्ष ३ अर्ब १५ करोड रुपैयाँ रिजर्बको आकार बढाएर बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ । 

बैंकले रिटेन अर्निङतर्फ ५५.७० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष १ अर्ब २१ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । 

बैंकले ९७ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३० अर्ब रुपैयाँ ऋण प्रवाह गरेको । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८४ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ३६ करोड ऋण प्रवाह गरेको थियो । 

बैंकको प्रतिसेयर आम्दानी २७.२६ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि बैंकको खराब कर्जा ०.२० प्रतिशत रहेको थियो । 

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १४.०१ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ६.५१ प्रतिशत र सीडी रेसियो ७४.३८ प्रतिशत रहेको छ । 
बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ९.७२ प्रतिशतमा सीमित गर्न सफल भएको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ १६७.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.२० गुणा कायम भएको छ ।