काठमाण्डौ। सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका आर्थिक वर्ष २०७५/७६ का लागि ६८ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ। 

वितरणयोग्य मुनाफा र सेयर प्रिमियममा रहेको बाँड्न मिल्ने रकमबाट उक्त लाभांश वितरण गर्ने क्षमता बैंकले बनाएको हो। चौथो त्रैमास विवरणअनुसार बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। बैंकले सेयर प्रिमियम रकम ३ अर्ब २६ करोड रहेको छ। 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा १८.७७ प्रतिशतले घटेको छ। बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा ३ अर्ब २१ करोड रुपैयाँ थियो। 

यस्तै बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो। 

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५० करोड रुपैयाँले घटेर १ अर्ब ४२ करोड रुपैयाँमा झरेको छ। बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ४ अर्ब ८४ करोड रुपैयाँ थियो। 

त्यस्तै अघिल्लो वर्ष १५ अर्ब २३ करोड रुपैयाँ रिजर्बको आकार घटाएर बैंकले १३ अर्ब ३४ करोड रुपैयाँमा झारेको छ। 

बैंकले रिटेन अर्निङतर्फ ५९०.४० प्रतिशतले वृद्धि गरेको छ। अघिल्लो वर्ष ४३ करोड ७१ लाख रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ। 

बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४१ करोड रुपैयाँ ऋण प्रवाह गरेको। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ९९ अर्ब ५४ करोड निक्षेप संकलन गरी ७५ अर्ब ५५ करोड ऋण प्रवाह गरेको थियो। 

बैंकको प्रतिसेयर आम्दानी २७.१५ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा २.५८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.३७ प्रतिशत रहेको थियो। 

बैंकको खराब कर्जामा ०.७९ प्रतिशतले घटेको देखाएको छ। बैंकको क्यापिटल एडेक्वेसी रेसियो १७.४१ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ५.५० प्रतिशत र सीडी रेसियो ७०.१७ प्रतिशत रहेको छ। 

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ७.९८ प्रतिशतमा सीमित गर्न सफल भएको छ। 

बैंकको प्रतिसेयर नेटवर्थ ३००.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११२.३७ गुणा कायम भएको छ।