काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १० प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ३९ करोड ६ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ३ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ३ अर्ब ६५ करोड रुपैयाँमा थियो । बैंकको नाफा ६.६६ प्रतिशतको घटेको देखिएको छ ।

अघिल्लो वर्ष ४ अर्ब ९५ करोड रुपैयाँमा सीमित संचालन मुनाफा घटेर यो वर्ष ४ अर्ब २२ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ५ अर्ब ८५ करोड रुपैयाँमा सीमित खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ६ अर्ब १५ करोड पुगेको छ ।

अघिल्लो वर्ष २ अर्ब ७३ करोड रुपैयाँ रहेको रिटेन अर्निङ घटेर यो वर्ष १ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ । बैंंकले अघिल्लो वर्षको तुलनामा १२.०४ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार १० अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार ९ अर्ब ७७ करोड रहेको थियो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ३५.६६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष घटेर २६.५४ रुपैयाँमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात २.७८ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ६.३१ प्रतिशत र आधार दर ८.३३ प्रतिशत रहेको छ ।