काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई  २६.३१ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

नेप्सेमा बिहीबार प्रकाशित सूचनाका अनुसार नेपाल लाइफको माघ २६ गते बसेको संचालक समितिको २४३ औं बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट बोनस सेयर बापत ६१ करोड ९२ लाख ८५ हजार ७ सय २५ रुपैयाँ तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९ सय ८६ रुपैयाँ प्रस्ताव गरेको हो । 

नेपाल लाइफले हालै एफपीओ जारी गरेकोमा त्यस्तो सेयर प्राप्त गरेका सेयरधनीले समेत घोषित बोनस सेयर पाउने स्पष्ट पारेको छ । यसरी, नेपाल लाइफको एफपीओ पाउने सेयरधनीले बोनस सेयरको सरप्राइज अफर समेत पाउने भएका हुन् । 

कम्पनीले प्रस्ताव गरेको लाभांश रकम विद्यमान चुक्तापूँजीको ३०.०८ प्रतिशत(बोनस सेयर बापतको करसहित) तथा एफपीओ वितरणपछि कायम हुन आउने चुक्तापूँजीको २६.३१ प्रतिशत(बोनस सेयरबापतको करसहित) हुने बताइएको छ । 

घोषित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने बताइएको छ । 

नेपाल लाइफले २०७३ पुस २७ देखि माघ २ गतेसम्म प्रतिकित्ता १४२५ रुपैयाँको दरले एफपीओ जारी गरेको थियो । एफपीओमा करिब १२ गुणा बढी आवेदन परेको थियो । एफपीओपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४७ करोड पुुग्नेछ भने रिजर्ब वृद्धि भई ४ अर्ब १ करोड पुुग्नेछ ।