काठमाण्डौ । चौतर्फी घेराबन्दीमा परेपछि अत्तालिएका प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निर्णायक शक्तिको रुपमा देखिएका माधवकुमार नेपाललाई फेरि प्रलोभनको तुरुप फ्याकेका छन् । 

पार्टीभित्रै पनि संकटमा पर्दै गएपछि उनले आफू निकटका नेताहरुमार्फत वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पठाएर केही बुँदाको तुरुप फाँकेका नेपाल निकट स्रोतले बताएको छ । 

ओली संकटमा परेपछि समस्या समाधानका लागि भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल केही दिनदेखि काठमाण्डौमा छन् । ओली समूहको तर्फबाट पोखरेलले पार्टीभित्रका शीर्ष नेताबीच बढेको तिक्तता मिलाउने प्रयास गरिरहेका छन् । 

अग्नी खरेल, गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताहरु समेत नेपाल र प्रचण्ड खेमाका नेताहरुलाई भेट्न व्यस्त छन् । आफ्नो गुट समस्यामा परेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत राजनीतिक भेटघाटलाई यहीबेला तीव्र पारेकी छिन् । पछिल्लो समय प्रचण्ड नेपाल समूहमा लागेका विष्णु पौडेल अरु बेला झै यो पटक ओली समूहबाट मध्यस्थता गरिरहेका छैनन् ।   

स्रोतका अनुसार यही क्रममा शंकर पोखरेल कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा पुगेर ओलीले पठाएका प्रस्तावहरुको विषयमा जानकारी गराएका हुन् । 

पोखरेलले माधव नेपाललाई केही प्रदेशका मुख्यमन्त्री फेर्न तयार रहेको, नेपाल पक्षबाट अपमानित ढंगले निकालिएका मन्त्रीहरुलाई पुनर्बहाली गर्न समेत तयार रहेको र ओलीले गरेका गल्ती सच्याएर सामूहिकताको भावनाले आगामी दिनमा अगाडि बढ्न तयार रेको प्रस्ताव सुनाएका स्रोत दाबी गर्छ । 

प्रदेशका मुख्यमन्त्रीमध्ये अधिकांश ओली समूहका नेता छन् । विशेष गरी प्रदेश १ र बागमति प्रदेशका मुख्यमन्त्रीमा ओली पक्षका वरिष्ठ नेतालाई षड्यन्त्रमूलक ढंगले हराउने काम ओली समूहले गरेको थियो । 

शंकर पोखरेलले ओलीको तर्फबाट ती गल्ती सच्याउने प्रस्ताव गरेका हुन् । प्रदेश १ मा पार्टीका सचिव समेत रहेका भीमप्रसाद आचार्यलाई षड्यन्त्रपूर्वक हराउने काम भएको थियो । ओली समूहकै नेता भएका कारण आचार्य भन्दा कनिष्ठ भए पनि मूख्यमन्त्रीमा शेरधन राईले बाजी मारेका थिए । यो घटनाबाट नेपाल समूह ओलीदेखि रुष्ट छ । 

यस्तै, पार्टीकी तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई समेत ओली समूहले षड्यन्त्र गरी हराउने काम गरेको थियो । विशेष गरी ओली समूहका रहेकी राष्टपति विद्यादेवी भण्डारीसँगको इगोका कारण अष्टलक्ष्मीलाई योजनाबद्ध ढंगले हराई पार्टीमा निकै जुनियर डोरमणि पौडेललाई मुख्यमन्त्री बनाउने काम गरिएको थियो । 

ओलीले यी दुवै गल्ती सच्याएर प्रदेश १ र बागमतिमा नेपाल समूहका नेतालाई मुख्यमन्त्री दिने तुरुप फ्याकेका छन् । 

यस्तै, ओली नेतृत्वको क्याबिनेटबाट राम्रो काम गर्दा गर्दै अनेकन लाञ्छना लगाएर फालिएका गोकर्ण बिष्ट, लालबहादुर पण्डितलाई समेत सरकारमा भित्र्याउने र क्याबिनेटमा नेपाल समूहलाई सम्मानजनक हैसियत स्थापित गराउने ओलीको अर्को प्रस्ताव छ । 

ओलीले विगतमा भएका गल्ती सच्याउने, आगामी दिनमा माधव नेपाल समूहलाई छायाँमा पारेर काम नगर्ने, बरु सहकार्य र सामूहिकताका आधारमा पार्टीलाई चलाउने लगायतका प्रस्ताव समेत गरेका छन् । यस्तै, नेपाल पक्षले सकेसम्म चाँडो स्थायी कमिटीको बैठक बोलाउन समेत भनेको छ । 

चार प्रस्ताव लिएर आफ्नो निवास आइपुगेका ओली निकट नेता शंकर पोखरेललाई माधव नेपालले भने एक व्यक्ति एक पदको अवधारणा लागू हुनुपर्ने र सोहीअनुसार ओलीले कि त अध्यक्ष पद छाड्नुपर्ने वा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने आफ्नो अडान सुनाएका स्रोत बताउँछ । 

नेपाल समूहले सुरुवातदेखि नै ओलीले एउटा पद छाड्नुपर्ने अडान लिँदै आएको छ । ओलीले अध्यक्ष पद छाडे त्यसमा नेपाल आफैं जाने र प्रधानमन्त्री पद छाडे त्यसमा पनि आफूहरुको दाबी रहने नेपाल पक्षका एक नेताले जानकारी दिए ।

नेपाल पक्ष ओलीले पार्टी र सरकारतर्फको दुवैको नेतृत्वको जिम्मा पाउँदा उनमा स्वेच्छाचारी बढेको, पार्टीलाई मनपरी ढंगले चलाउन खोजिएको, एकांकी र स्वेच्छाचारी कार्यशैलीका कारण पछिल्लो समय कम्युनिष्ट आन्दोलनको उपलब्धि नै धरापमा पर्न थालेको विश्लेषण गरिरहेको छ । यहीकारण समेत शीर्ष नेतृत्वमा एक व्यक्ति, एक पदको नीति लागू हुनुपर्ने यो पक्षको अडान छ । 

नेपाल पक्षको मात्र होइन, प्रचण्ड समूह समेत ओलीले फाल्ने कुनै तुरुपमा नअल्झिने, ओलीले स्थायी कमिटीको सामना गर्नुपर्ने, विगतका गल्ती सच्याउनुपर्ने लगायतको अडानमा छ । ओली र नेपाल समूहको अडानहरु उस्तै छन् । यसकारण समेत ओली पछिल्लो समय थप अप्ठ्यारोमा परेका छन् । 

ओलीको स्वेच्छाचारिता बढेको भन्दै आइतबार कोटेश्वरस्थित नेपाल निवास र खुमलटारस्थित प्रचण्ड निवासमा दुवै समूहका स्थायी समिति सदस्यहरुको बैठक समेत बसेको थियो । दुवै बैठकमा नेताहरुले ओलीको स्वेच्छाचारिता अन्त गर्न, प्रधानमन्त्री पदबाट राजीनामाका लागि दवाब सिर्जना गर्न, विगतका गल्ती सच्याउन तयार नभए जस्तोसुकै कदम चाल्न समेत तयार हुनुपर्ने आफ्ना कमाण्डरहरुलाई सुझाव दिएका थिए । 

कुनै पनि प्रलोभनमा नफसी ओलीको स्वेच्छाचारी शासनको यो पटक अन्त गरेरै छाड्ने अडानमा नेपाल र प्रचण्ड समूह रहेका कारण यो बीचमा फ्याकिने तुरुपहरुले काम नगर्ने नेपाल पक्षका एक स्थायी समिति सदस्य बताउँछन् । ‘अबको अवस्था वार कि पारको हो ।’ ती नेताले बिजशालासँग भने–‘ओली तानाशाह अब ढल्छ।’