काठमाण्डौ । नेपालमा प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान (जनपद) का लागि बुधबार दरखास्त खुलेको छ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागको भर्ना छनोट महाशाखाले प्रहरी जवान पदका लागि कुल ५ हजार २२७ जनाको दरखास्त खुलाएको हो। कुल पद संख्यामध्ये खुलातर्फ २ हजार ८१७, अमर/असक्त प्रहरी परिवारतर्फ १०५, महिला, समावेश समूहतर्फ महिला ४६१, आदिवासी जनजाति ७३७, मधेसी ६४६ र पिछडिएको क्षेत्र ११६ कोटा छुट्याइएको छ।

इच्छुक उम्मेदवार १ नं. प्रहरी प्रदेश तालिम केन्द्र विराटनगर, २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगनज), सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, महानगरी प्रहरी परिसर काठमाण्डौ, महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी परिसर ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्। 

यो पदका लागि कम्तीमा कक्षा ८ पास वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ। 

यो पदका लागि दरखास्त दर्ता गर्ने समय कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म तोकिएको छ। उम्मेदवार पुस २ गते दरखास्त बुझाएको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।