काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको रु. ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र स्वीकृत गरेको छ।

बोर्डले हिजो मंसिर १८ गते नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र स्वीकृत गरेको छ। यो स्वीकृतिसँगै अब बैंकले छिटै रु. १ हजार अंकित दरका ४० लाख इकाइको ऋणपत्र निष्कासन गर्नेछ।

बैंकले ‘नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड–२०८४’ नामक ऋणपत्र निष्कासन गर्नेछ। यो ऋणपत्र कुल इकाइमध्ये २४ लाख इकाइ प्राइभेट प्लेसमेन्टमार्फत र बाँकी १६ लाख इकाइ सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ। 

यो ऋणपत्रको अवधि ७ वर्षको हुनेछ। अर्थात यो ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ। 

लगानीकर्ताहरुले यो ऋणपत्रमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज पाउनेछन्। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।

बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।