काठमाण्डौ । सेयर बजारको ब्लु चिप कम्पनीमध्येको एक नेपाल लाइफ इन्स्योरेन्सले  ५१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। 

यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि यो लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको आज बसेको ३११ औं संचालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश र ३१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो । 

यो प्रस्ताव नियामक बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

आर्थिक वर्ष २०७४/७५ भन्दा नेपाल लाइफको लाभांश बढेको हो । सो आर्थिक वर्षका लागि यो कम्पनीले ४८.५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसबेला २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद लाभांश थियो । 

आर्थिक वर्ष २०७३/७४ मा भने कम्पनीले ४२ प्रतिशत बोनस सेयरसहित कुल ७०.५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब रू. ५ अर्ब ५० करोड रहेको चुक्तापूँजी लाभांश वितरण पश्चात रु. ७ अर्ब १९ करोड हुनेछ भने लगानी रू. १०४ अर्ब रुपैयाँ रहेको छ । 

त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ । 

कम्पनीले यस आर्थिक वर्षको मंसिर मसान्तसम्ममा जम्मा रू. १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ६७ हजार ५ सय ६५ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २८ लाख २० हजार १ सय ९६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।