काठमाण्डौ । नेपाल टेलिकमले यही पुष १७ गतेदेखि एनटीटीभी ब्रान्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याउने भएको छ। 

हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा अब आईपी टीभी सेवा पनि थप गर्न लागेको हो। कम्पनीको एनटीटीभ सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाण्डौ उपत्यकाभित्रका सुन्धारा, बबरमहल, थिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोगबु, पाटन, हात्तीगौँडा, जोरपाटी, कीर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुनेछ। 

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टीभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। एनटी टीभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट सेट टप बक्स (एसटीबी) खरिद गर्नुपर्दछ भने ग्राहकले प्रयोग गरिरहेको ट्र्याडिस्नल टीभी सेट र आधुनिक डिजिटल टीभी सेटमा एनटी टीभी हेर्न सकिन्छ।

विभिन्न राष्ट्रिय टीभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकले आफ्नो आवश्यकता र उपयुकतताअनुसारको प्याकेज छनोट गरी सेवा लिन सक्नेछन्। 

प्याकेज तथा दररेटसम्बन्धी जानकारी कम्पनीको वेबसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। साथै, एनटी टीभी सम्बन्धमा ग्राहकलाई उपयोगी हुने थप जानकारी एफएक्यूका रुपमा तथा एसटीबी र एफटीटीएच राउटरबीचको कनेक्सनसम्बन्धी जानकारीहरु भिडियो क्लिपजस्ता उपयुक्त माध्यमबाट ग्राहकको सुविधाका लागि उपलब्ध गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ। कम्पनीका भ्वाइस सेवा, डाटा सेवा र टीभी सेवा एउटै फाइबरका माध्यमबाट उपलब्ध हुने भएकोले कम्पनीका सेवाहरु ग्राहकलाई थप आकर्षक हुने अपेक्षा राखेको छ।