काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा १० कित्ता अनिवार्य पाइन्छ भन्ने आशा गरेर आवेदन दिन तँछाडमछाड गर्नेहरुका लागि अशुुभ खबर । यो कम्पनीको आइपीओमा यति धेरै आवेदन परेको छ कि अब धितोपत्र बोर्डले बनाएको सार्वजनिक निश्कासनसम्बन्धी नयाँ नियमावली अनुसार सबैको भागमा १० कित्ता अनिवार्य पर्ने संभावना टरेको छ । नयाँ नियमावलीका कारण उत्साहित भएर आइपीओमा लगानी गर्नेहरु समेत अब साबिकको झै भाग्यकै भरोसामा पर्नुपर्ने भएको छ । 

यो कम्पनीले निश्कासन गरेको ३ लाख ९० हजार कित्ता आइपीओमा दोश्रो दिनसम्म नै ३८ हजार २ सय ४१ ज्नाले आवेदन दिएका छन् । ३ करोड ९० लाखको आवेदन माग्दा पहिलो २ दिनसम्म नै ३५ करोड बढीको प्रस्ताव परिसकेको छ । 

यो कम्पनीको आइपीओमा आवेदन दिनका लागि मंगलबार र बुधबारको दिन अझै बाँकी छ । सार्वजनिक निश्कासनहरुको विगतको अभ्यास हेर्दा अन्तिम दिनहरुमा आवेदनको झनै ठूलो भेल उर्लिन्छ । यसकारण बुधबारसम्म यो कम्पनीको आइपीओमा अचाक्ली आवेदन पर्ने र सेयरको बाँडफाँडको लागि फेरि साबिकको झै चिठ्ठाप्रथालाई ब्यूँताउनुपर्ने अवस्था सिर्जना हुने देखिन्छ । 

यो कम्पनीको आइपीओको १० कित्ता अनिवार्य पाउने नियम कार्यान्वयनका लागि ३९ हजार भन्दा माथि आवेदन पर्नुहुँदैन थियो । तर, २ दिनभित्रै करिब यो सीमानजिक आवेदन परेपछि १० कित्ता पाइन्छ भनेर मक्ख परी लगानी गर्नेहरु हिस्स हुने अवस्था आएको छ । 

कुल निश्कासित आइपीओमध्ये १९ हजार ५ सय म्युुचुुअल फण्डहरुका लागि र  ७ हजार ८ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६२ हजार ७ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने बताइएको छ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘ग्रेड फोर रेटिङ’ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको आधारभूत बित्तीय अवस्था निकै कमजोर छ भन्ने पनि हो । यसर्थ, आइपीओ भन्दैमा कुरा नबुुझी धेरै पैसा फसाउनु गलत हुनेछ । 

यो जलविद्युत कम्पनीले गत मंसिरमा दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ६० हजार कित्ता सेयर आइपीओ गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि निश्कासन हुने आइपीओको पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँको उचाईमा पुुग्नेछ । 

यो कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाट क्षमताको चर्नावती जलविद्युत आयोजना निर्माण गरी संचालन गरिरहेको छ ।