काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ। 

काठमाण्डौ उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी क्यूआर कोडमार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरिएको छ। उक्त कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरेका छन्। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष श्री गोपाल गुरुङ, बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहकको उपस्थिति थियो।

नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीले बसमा भएको मुक्तिनाथ बैंकको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा भाडाबापतको रकम भुक्तानी गर्न सक्नेछन्। यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ति पाइने, नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ।