काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले सेयर टुक्र्याउने(स्टक स्प्लिट) सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

वीरगञ्जमा आयोजना गरिएको कम्पनीको २० औं वार्षिक साधारणसभाले स्टक स्प्लिट सम्बन्धी प्रस्ताव पारित गरेको हो । 

अब यो प्रस्ताव धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत भएको खण्डमा नेपाल लाइफको सेयर टुक्र्याउने योजना सफल हुनेछ ।

त्यसपछि नेपाल लाइफको सेयरको अंकित मूल्य रु. १०० को ठाउँमा रु. ५० कायम गरिनेछ भने हाल सेयरधनीसँग रहेको सेयर संख्या दोब्बर हुनेछ । बजार मूल्य भने आधा हुनेछ । 

नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभाले यसअघि संचालक समितिबाट भएको प्रस्तावअनुसार आर्थिक वर्ष ०७५ ७६ का लागि सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । 

म्पनीले वार्षिक साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको हाल कायम प्रतिसेयर मूल्य रु.१०० रहेकोमा सो सेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर मूल्य रु. ५० कायम गर्ने उल्लेख छ । 

यसलाई सेयर स्प्लिट भनिन्छ । यस्तो व्यवस्थामा प्रतिसेयर अंकित मूल्य आधाले घट्दा सेयर संख्या भने दोब्बर हुन्छ । उदाहरणका लागि यदि तपाईसँग नेपाल लाइफको १०० कित्ता सेयर छ भने यो व्यवस्था कार्यान्वयनमा आएपछि तपाईको सेयर संख्या बढेर २०० कित्ता पुग्छ ।

यो व्यवस्थाले सेयरधनीसँग भएको सम्पत्तिमा भने कुनै प्रभाव पार्दैन । अर्थात १०० कित्ता सेयर हुनेको संख्या बढेर २०० कित्ता पुगे पनि कुल सम्पत्ति भने यथावत रहन्छ । हाल नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो बजार मूल्य २४०० रुपैयाँ हाराहारीमा छ । प्रति सेयरमूल्य २४०० रुपैयाँकै दरले हिसाब गर्दा पनि १०० कित्ता हुनेको कुल सम्पत्ति रु.२ लाख ४० हजार हुन्छ । यदि सेयर स्प्लिट भयो भने कित्ता २०० पुगे पनि कुल सम्पत्ति भने २ लाख ४० हजार नै कायम हुन्छ । अर्थात दोश्रो बजारमा सेयर मूल्य समेत नेप्सेले समायोजन गरी आधा कायम गर्छ । रु. २४०० को मूल्य घटेर प्रतिकित्ता रु. १२०० कायम हुन्छ । 

सेयर स्प्लिट गर्दा लगानीकर्ता र बजारका लागि भविष्यमा भने हित नै हुन्छ । यस्ता सेयरमा अझ आकर्षण हुने, उच्च प्रतिफलको संभावना रहने र उच्च रिटर्न समेत आउने जानकार बताउँछन् । महंगा सेयरलाई टुक्रा पार्दा साना लगानीकर्ताले पनि खरीद गर्नसक्छन्, जसले कम्पनीको प्रदर्शन अझ राम्रो हुने आशा गरिन्छ । 

प्रतिसेयर मूल्य १०० बाट रु. ५० कायम हुँदा सेयर संख्या बढ्यो, तर पर भ्यालू, इपीएस, डेभिडेन्ट पर सेयर, मार्केट प्राइस पर सेयर भने समानुपातिक ढंगल घट्छन् । 

नेपालजस्तो चलखेल भइरहने बजारमा सेयर संख्या धेरै हुँदा चलखेल कम हुने संभावना रहन्छ । 

हाल नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो बजारमा ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता सेयर सूचीकृत छ । यदि पेडअप भ्यालू १०० रुपैयाँबाट घटेर ५० रुपैयाँ कायम भए सेयर संख्या बढेर १० करोड ९९ लाख २३ हजार २१६ कायम हुनेछ ।