काठमाण्डौ । देशको सबैभन्दा ठूलो बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दीगो एवम् भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार र विविधिकरण गर्दै जाने भएको छ । 

यो कम्पनीको माघ २८ गते वीरगञ्जमा सम्पन्न बीसौं वार्षिक साधारणसभाले बीमा समितिको निर्देशनको परिधिभित्र रही सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानी गर्ने तर्फ ठोस कार्य गर्ने लक्ष्यलाई अनुमोदन गरेको छ । 

साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ७,१९,९९,७०,६६१ हुनेछ।

अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

अध्यक्ष संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि आगामी दशकको अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रतिशेयर अंकित मूल्य रु.१०० को व्यवस्थालाई परिवर्तन गरि प्रति शेयर अंकित मूल्य रु.५० कायम गर्ने प्रस्ताव पारित गरेको छ । 

सभाबाट आ.व.२०७५÷०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ । 

सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचनबाट विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित भएका छन् । संचालकमा निर्वाचित लामिछाने कुशल बैंकर हुन् । उनले केही महिनाअघि मात्रै महालक्ष्मी विकास बैंकको सीइओ पदबाट राजीनामा दिएका थिए । 

यसैबीच, संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी सोको स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय समेत भएको छ । 

हाल यस कम्पनीको लगानी रु १०५.५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,६९,४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । 

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेका छन् ।