काठमाण्डौ । नेपाल बैंक लिमिटेडको अध्यक्षमा नियुक्त मधुकुमार मरासिनीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट नेपाल बैंकका नवनियुक्त अध्यक्ष मरासिनीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। मरासिनी अर्थ मन्त्रालयका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन्। उनलाई गत फागुन १० गते बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा नियुक्त गरेको थियो।

शपथ ग्रहण कार्यक्रममा गर्भनर अधिकारीले नवनियुक्त अध्यक्ष मरासिनीलाई बधाइ तथा शुभकामना दिँदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति÷रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे। 

कार्यक्रममा नवनियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे। उनल यस जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनले बैंकको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउन तथा बैंकको व्यावसायिक विकासका लागि बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता व्यक्त गरे। 

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।