काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको गत फागुन २० गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख रुपैयाँबराबरको बोनस सेयर र ०.७८९५ प्रतिशतले हुन आउने २० लाख ५२ हजार ६३२ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट प्रस्ताव गरिएको तर वितरण हुन नसकेको ४ प्रतिशत बोनस सेयरसहित गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको जानकारी गराएको छ। 

सोही बैठकले कम्पनीको ३ आर्थिक वर्षको क्रमशः १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारणसभा एकैपटक गर्ने निर्णय गरेको छ। जसअनुसार वार्षिक साधारणसभा आउँदो चैत १७ गते हुने कम्पनीले जनाएको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो चैत ३ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।