काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आज सम्पन्न १३ औँ वार्षिक साधारणसभाले गत वर्षको लाभांश अनुमोदन गरेको छ। 

काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा रकममध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

साधारणसभामा करिब ९२ प्रतिशत सेयरधनीको उपस्थिति थियो। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ। 

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७÷७८ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड अकाउन्टेन्ट प्रकाशजंग थापा र चार्टर्ड अकाउन्टेन्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत तोकेको छ। 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा अम्बिकाप्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित चयन गरी सभाले अनुमोदन गरेको छ।  

अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको १३ औँ वार्षिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को प्रभावका कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारणसभा गर्नुपरेको व्यहोरा अनुरोध गर्दै सेयरधनीलार्ई आकर्षक प्रतिफल उपलब्ध गराउन र कम्पनीको वित्तीय स्वास्थ्य मजबुत बनाउन सञ्चालक समिति सधैँ प्रतिबद्ध रहँदै आएको बताए। 
बस्यालले उपभोक्ताको अपेक्षाअनुरूप किफायती, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल र अग्रणी संस्थाको रूपमा विकास गर्न सेयरधनीहरूबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि सञ्चालक समितिका तर्फबाट हार्दिक आभार व्यक्त गरे।