काठमाण्डौ। नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धक पदमा रामकुमार महत नियुक्त भएका छन्। 

महतले यही वैशाख २ गतेदेखि नेपाल बंगलादेश क्यापिटलको कार्यभारसमेत सम्हालिसकेका छन्। महतसँग मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षदेखि काम गरेको अनुभव रहेको छ।

नेपाल बंगलादेश बैंकको सहायक कम्पनीका रुपमा रहेको नेपाल बंगलादेश क्यापिटल नेपालको पुँजीबजारमा सेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, सेयर निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूति तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्दै आएको छ। यिनै प्रमुख उद्देश्य लिई कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक कम्पनीका रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरी विधिवत रुपमा कानुनी अस्तित्व प्राप्त गरेको यो क्यापिटल धितोपत्रसम्बन्धी ऐन तथा सोअन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) का रुपमा कारोबार गर्न अनुमति प्राप्त संस्था हो।