काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओको बाँडफाँड भदौ ३० गते(शुक्रबार) हुने भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार तथ्यांक व्यवस्थापनको सबै काम पूरा भइसकेको छ । 

यो जलविद्युत कम्पनीले गत साउन २७ देखि ३२ गतेसम्म ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । एकसय रुपैयाँ अंकित दरको ३ करोड ९० लाखको आइपीओमा देशभरका १ लाख ७३ हजार आवेदकबाट १ अर्ब ५० करोड बढीको प्रस्ताव परेको थियो । 

इच्छुक लगानीकर्तालाई न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्मका आवेदनको सुविधा दिइएको थियो । यो जलविद्युत कम्पनीले कुल निश्कासित कित्तामध्ये २ प्रतिशत आफ्ना कर्मचारीका लागि, ५ प्रतिशत ११ वटा सामूहिक लगानीकोषका लागि र बाँकी सर्वसाधारणका लागि छुट्याएको छ । 

यो कम्पनीको अधिकृत पूँजी ६० करोड रुपैयाँ रहेको छ । हाल यो कम्पनीको चुक्तापूँजी २२ करोड १० लाख रुपैयाँ रहेको छ । आइपीओपछि २६ करोड पुुग्नेछ ।