– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कुनै पनि कम्पनीको सेयरमा लगानी गरेपछि प्रतिफलको आशा अवश्य पनि हुन्छ । तर लाभांश अनुमोदन भएको महिनौँसम्म पनि आफ्नो खातामा बोनस सेयर नआउँदा लगानीकर्ताहरु अन्यौलमा पर्ने गरेका छन्। 

यस्तै अन्यौलतामा छन्, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरु। नेपाल लाइफ देशकै उच्च बोनस दर घोषणा गर्ने कम्पनीमा पर्छ। यो कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ का लागि कुल ५१ प्रतिशत लाभांश दिएको थियो। जुन बम्पर हो। जसमा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेका छन्। 

त्यसो त कम्पनीको गत वर्ष माघ २८ गते बसेको २० औँ वार्षिक साधारणसभाले लाभांश अनुमोदन पनि गरिसकेको छ। वार्षिक साधारणसभाबाट अनुमोदन भएको केही दिनमै यो कम्पनीको नगद लाभांश सेयरधनीहरुले पाइसकेका छन्। यद्यपि वार्षिक साधारणसभाबाट पारित भएको झन्डै ४ महिना बितिसक्दा पनि बोनस सेयर खातामा नआउँदा लगानीकर्ताहरु अन्यौलमा परेका छन्। 

कम्पनीका एक अधिकारी लिस्टिङ प्रक्रिया नै ढिलो भएकोले अहिलेसम्म लगानीकर्ताको खातामा बोनसबापतको सेयर पठाउन नसकिएको स्वीकार गर्छन्। ‘बोनसबापत सेयर लिस्टिङका लागि कम्पनी रजिस्टार, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्स) हुँदै पुनः कम्पनी रजिस्टारसम्म आउँदा ढिलो भयो’, ती अधिकारीले भने, ‘अब ढिलोमा भदौसम्म बोनस सेयर लिस्टिङ हुन्छ ।’

सोही वार्षिक साधारणसभाले १ सेयरलाई २ सेयरमा खण्डीकरण गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको थियो। यो प्रक्रिया पनि नियामक निकाय बीमा समितिले स्वीकृति प्रदान नगर्दा रोकिन पुगेको ती अधिकारीले बताए। ‘हामीले अन्तर्राष्ट्रिय चलनअनुसार सेयर खण्डीकरण गर्ने कोसिस गरेका थियौँ तर नियामक नमान्दा सफल भएन’, ती अधिकारीले भने। 

ती अधिकारीले गत आर्थिक वर्ष २०७६/७७ लाभांश पनि छिटै सेयरधनीहरु पाउने संकेत गरेका छन्।