काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको छ। 

अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड््गामीले सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो। हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एअरले नियमित एयरलिफ्ट  एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालिन  उद्धार उडान गर्न समेत सहज हुने भएको हो। 

नेपाल मेडिसिटी अस्पतालले बिरामीहरुलार्ई हवाई तथा ग्राउन्ड एम्बुलेन्समार्पmत आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने आशा अस्पतालका महाप्रबन्धक विजय रिमालले राखे। उनका अनुसार अस्पतालद्वारा एयरलाइन्सका उडानदल तथा विभिन्न स्थानका ग्राउन्ड ह्यान्डिलङ कर्मचारीलाई प्रि–हस्पिटल केयर अर्थात अस्पताल आउनुपूर्वको प्राथमिक उपचार र आकस्मिक उद्धारका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।  

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यले यती एअरलाइन्सको उडानसेवा उपलब्ध हुने स्थानहरुबाट आकस्मिक उपचार तथा एयरलिफ्ट गरी थप उपचारका लागि आवश्यक हुने बिरामीहरुको आवश्यकताअनुसार जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुने छ। यसका साथै आवश्यक परेको खण्डमा एकभन्दा बढी बिरामी र बिरामीका पक्षलाई उपचारका लागि स्थानान्तरण गर्न सक्षम रहेको उनले बताए। उनका अनुसार यस महामारीको विषम परिस्थितीमा यस प्रकारको सेवाले दुर्गम क्षेत्रका जनताले समयमै उपचार पाउन सहज हुनेछ। 

देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यस सम्झौताले विशेष भूमिका खेल्न सक्नेछ। आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती एअरलाइन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुनेछ।