काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ। 

नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो। यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम रु. १ लाखदेखि आम्दानीका आधारमा अधिकतम बीमांक छनोट गर्न सकिने कम्पनीद्वा जारी विज्ञप्तिमा जनाइएको छ।

यस सावधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात वा ७ वर्ष उमेर पूरा भएपश्चात (जुन पछि आउँछ) मात्र बीमालेखअन्तर्गतको जोखिम प्रारम्भ हुनेछ। त्यसैगरी बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पूरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको वार्षिकोत्सव मितिदेखि बीमालेखअन्तर्गतको जोखिम प्रारम्भ हुनेछ।

बीमालेख परिपक्व अवधिसम्म बीमित जीवित रहेमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ। कथमकदाचित बीमाको जोखिम प्रारम्भ हुनुअगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्कबाहेक) प्रस्तावकलाई भुक्तान गरिनेछ। 

त्यसैगरी बीमा जोखिम प्रारम्भपश्चात बीमितको मृत्यु भएमा तत्काल बीमांक रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमांक रकम र आर्जित बोनस रकम व्याजसहित एकमुष्ठ बीमा अवधि समाप्तिमा प्रस्तावकलाई भुक्तान गरिनेछ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बीमालेखमा ३ वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ। 

यदि बीमाशुल्क छुट सुविधा (पीडब्ल्यूबी) लिएको छ भने यस बीमालेखले प्रस्तावकको जोखिमसमेत बहन गर्नेछ। बीमालेख चालु रही बीमा अवधि भित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अंगभंग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपांग अशक्त सुविधाबराबर रकम मासिक १२० समान किस्तामा अपांग अशक्त सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

मासिक आय सुविधा (एमआईबी) लिएको अवस्थामा बीमालेख प्रारम्भ भएपश्चात बीमा प्रस्तावको मृत्यु भएमा, मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बीमांकको १ प्रतिशत रकम मासिक रुपमा केटाकेटी १८ वर्ष वा बीमा अवधि समाप्ति (जुन अगाडि आउँछ) सम्म कम्पनीले उपलब्ध गराउन छ। त्यसैगरी बच्चाको जोखिम कभर सुविधा (सीआरसी) लिएका बीमितको हकमा बीमा प्रारम्भ भएको २ वर्षपश्चात नै बच्चाको जोखिम बहन गर्न सकिनेछ। 

समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ। नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ। नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ। 

ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकताअनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ।