काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकलाई आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन आग्रह गरेको छ। 

 विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भए पनि कोही नबोल्ने, मेसिनले स्वचालित जबाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था देखिएको भन्दै कम्पनीले यस्तो आग्रह गरेको छ। कम्पनीद्वारा जारी सूचनामा भनिएको छ, ‘यसका साथै केही दिनयता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ।’

यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने कम्पनीको भनाइ छ। त्यसैले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन कम्पनीले आग्रह गरेको छ। 

सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भए पनि कम्पनीका ग्राहकको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको पनि सूचनामा उल्लेख छ। 

यसका साथै अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहक पनि सतर्क रहनु हुन तथा कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आईएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न पनि टेलिकमले आग्रह गरेको छ।