काठमाण्डौ । नेपाल टेलिकमको डिजिटल पेमेन्ट कम्पनी ‘नमस्ते पे’ यही भदौ महिनाबाटै व्यावसायिक रुपमा सञ्चालन ल्याउने तयारी गरेको छ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल टेलिकमले यस्तो जानकारी गराएको हो। ‘यो सञ्चालनमा ल्याउन अहिले परीक्षण तीव्र रुपमा भइरहेको छ’, कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिए। नमस्ते पेमा नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३८ प्रतिशत स्वामित्वमा रहेको छ। 

यसैगरी टेलिकमले फोरजीको काम सम्पन्न हुन लागेको प्रवक्ता जोशीले बताए। ‘अब छिटै फाइभजीको परीक्षण हुनेछ’, उनले भने, ‘यसका साथै स्थानीय टेलिफोन तथा एडीएसललाई फाइबरमा रुपान्तरणका लागि कार्य अगाडि बढाइनेछ।’ 

कार्यक्रममा टेलिकमको विगतका विभिन्न उपलब्धिहरू जस्तै ९२ प्रतिशत स्थानीय निकायहरुमा फोरजी सेवाको पहुँच, भोल्ट सेवाको परीक्षण, अधिकृत तहसम्मका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन सम्झौताजस्ता विषयबारे जानकारी गराइएको थियो।