काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योेरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । यो अवधिमा नेपाल लाइफले निकै ठूलो छलांग मार्दै १७ करोड ७४ लाख बढी खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफको खूद नाफा ५ करोड ८९ लाखमा सीमित थियो । यो हिसाबले २०१ प्रतिशतले नाफा बढाएको हो ।

कम्पनीले बिमा शुल्कबाट हुने आम्दानीलाई पनि बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ६६ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ३ अर्ब ७५ करोडको उचाईमा पुुगेको छ । 

लगानी, कर्जा तथा अन्यबाट हुने आय गत वर्षको यही अवधिमा ४६ करोड ८६ लाख रुपैयाँ रहेकोमा बढेर यो वर्ष ९३ करोडको उचाईमा पुुगेको छ । यस्तै, बिमालेखको धितोमा कर्जाबाट आय यो वर्ष २६ करोड ९२ लाखको उचाईमा पुुगेको छ, अघिल्लो वर्षको यही अवधिमा यस्तो आय १० करोडमा सीमित थियो ।

समीक्षा अवधिमा नेपाल लाइफले १ अर्ब १८ करोड बढीको दाबीभुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ करोड ६१ लाख बराबरको मात्र दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्ष १० लाख २० हजार रहेको बिमा लेखको संख्यालाई बढाएर १० लाख ९४ हजार माथि पुर्याएको देखिन्छ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा यो कम्पनीले व्यवस्थापन खर्चमा करिब २२ लाखको कटौति गर्न सफल भएको छ । 

नेपाल लाइफले जीवन बिमा कोषलाई निकै मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३४ अर्ब २८ करोड रहेको कोषमा समीक्षा अवधिसम्म ४३ अर्ब ३६ करोड बढी रकम जम्मा भएको छ । 

कम्पनीको रिजर्ब कोषमा समेत उस्तै छलाङ हानेको छ । अघिल्लो वर्षको यही अवधिमा ३१ करोड ८२ लाख रहेको रिजर्ब कोषमा समीक्षा अवधिसम्म ४ अर्ब ८६ करोड जम्मा भएको छ । यो हिसाबले रिजर्ब कोषमा १४२९ प्रतिशतको छलाङ मारेको देखिन्छ ।

समीक्षा अवधिमा नेपाल लाइफको प्रतिसेयर आम्दानी २२.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६५.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८३.९६ गुणा कायम भएको छ ।