काठमाण्डौ। नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन (एनआईसीआरएफ) बीच गत शुक्रबार समन्वयका लागि सम्झौता भएको छ।

यस किसिमको विशिष्टकृत अनुसन्धान इकाइ स्थापना गर्ने नेपालकै पहिलो निजी अस्पताल नेपाल मेडिसिटीले यस सम्झौताबाट सघन उपचारको कुनै पनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर खोज्न सहयोग प्राप्त गर्ने आशा राखेको छ।  

नेपालको सघन उपचारको विकासमा अनुसन्धान मुख्य आधार रहेको विषयलाई दर्शाउने उद्देश्यका साथ काम गर्दै आएका एनआईसीआरएफले देशकै ठूलो संरचना र क्षमतासहितको सघन उपचार विभाग रहेको नेपाल मेडिसिटीसँगको सहकार्य गर्न लागेको हो। उपचार सिलसिलाका अनुभवका आधारमा खोजिएका जानकारीको प्रशोधन गर्दै उपयोगी तथ्यांकहरुबाट प्राप्त निष्कर्षलाई चिकित्सा सेवामा प्रयोग गर्न सकिनेछ। जसका लागि एनआईसीआरएफले नेपाल मेडिसिटीका कर्मचारीहरुसँग समन्वय गर्नेछ। 

अस्पतालको सघन उपचारमा भर्ना भएका बिरामीहरुको सबै व्यक्तिगत जानकारीलाई गोप्य राखी कुनै पनि व्यक्ति किन भर्ना हुनुपर्यो, कति दिन उपचार भयो, के–कस्ता उपचार विधि अपनाइयो, बिरामी सुरक्षा संयन्त्र कसरी अपनाइयोजस्ता जानकारीहरु रिसर्च इकाइले राख्ने भएको छ।

नेपाल मेडिसिटीले आफ्नो उपचार प्रक्रियामा उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्तिमात्र नभई खोज तथा अनुसन्धानमूलक ज्ञानको पनि उत्कृष्ट प्रयोग गर्दै आएको अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एन्ड एजुकेसन प्राडा नीलमणि उपाध्यायले बताए। यस सम्झौताले क्रिटिकल केयरको सूक्ष्म अध्ययन गर्न र सेवालाई थप गुणस्तरीय बनाउन सहयोग पुर्याउने आशा उनले राखे।