काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ।

बैंकको गत मंसिर १७ गते सम्पन्न ३५ औँ वार्षिक साधारणसभाबाट पारित भएको १२.६११ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरिएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था पनि भइसकेको बैंकले जनाएको छ। 

गत मंसिर ५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको बैंकले स्पष्ट पारेको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः जम्मा गरिँदै जाने बैंकले जनाएको छ।

त्यस्तै गत मंसिर ५ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुले बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनराई सेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई बैंकले आग्रह गरेको छ। सो मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने बैंकले जनाएको छ।