काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटे (एनडीपीसी) डबीच औपचारिक रुपमा सम्झौता भएको छ। 

सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

सम्झौतापश्चात् एनडीपीसीद्वारा सन्चालनमा रहेको वालेट नमस्तेपेलाई एनसीएचएलको नेसनल पेमेन्ट स्विचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ भने विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत् अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्नेछ। 

उक्त स्विच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारका रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंक वित्तीय संस्था तथा गैरबैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन्। त्यसैगरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीका लागि नेसनल कार्ड स्विच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ।

एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो। एनडीपीसीमा ग्रामीण क्षेत्रको पहुँचदेखि लिएर वित्तीय तथा बैंकिङ सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन्। 

देशका कुनाकाप्चासम्म पनि मोबाइलका माध्यमबाट वित्तीय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसाथ गर्दै यसले आफ्नो नमस्तेपे वालेटमा क्रेडिट कार्ड बिल भुक्तानी, डीटीएचको भुक्तानी, मोबाइल रिचार्जलगायत विभिन्न भुक्तानी गर्न सकिने सेवा उपलब्ध गराउंदै आएको छ र एनडीपीसीमार्फत नेसनल पेमेन्ट स्विचको पहिलो चरणअन्तर्गतको विभिन्न सेवा तथा उपकरणको विस्तारले  यसका ग्राहकलाई थप सेवासुविधा प्रदान गर्नेे विश्वास गरिएको छ। 

हाल नेसनल पेमेन्ट स्विचमा ३८ वटा बैंक तथा वित्तीय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भइसकेका छन्।