काठमाण्डौ। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को चौधौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका सेयरधनीलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर रु. २० का दरले नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पनि सभाले पारित गरेको छ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो। उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ। 

सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७८/७९ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड अकाउन्टेन्ट महेश गुरागाईं र चार्टर्ड अकाउन्टेन्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य सर्तहरु निर्धारण गरेको छ। 

सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको चौधौँ वार्षिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदन प्रस्तुत गर्दै उनले सेयरधनीको अटुट विश्वास, उपभोक्ताको भरोसा एवं सद्भाव, कम्पनीमा कार्यरत कर्मचारीको अथक परिश्रम र अन्य सरोकारवालाको सहयोगका कारण देशकै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा कम्पनी स्थापित भएको बताए। 

अर्यालले उपभोक्ताको अपेक्षाअनुरुप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्न सबैबाट प्राप्त सहयोग, सद्भाव, विश्वास र रचनात्मक सुझावका लागि हार्दिक आभार प्रकट गरे। कोभिडको प्रतिकूल अवस्थामा पनि कम्पनीले आफ्नो सेवालाई कुशलताका साथ प्रवाह गर्दै आएको, महामारीकै कारण कोही पनि सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने गरी विद्यमान महशुलमा छुट दिनुका साथै जरिवानासमेत मिनाहा गरेको र विश्वमा विकास भएको नवीनतम र आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको उनले बताए।