काठमाण्डौ। नेपाल पर्यटन बोर्डले बोर्डका नवनियुक्त बोर्ड सदस्य तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोभ) को नयाँ कार्य समिति सदस्यलाई स्वागत गरेको छ। 

सोमबार बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नवनियुक्त सदस्यहरुलाई स्वागत गरेका हुन्। 

स्वागत कार्यक्रममा बोर्डका नवनियुक्त सदस्य मदन आचार्यले बोड नयाँ बजेटको तयारीमा रहेकोले सरोकारवाला सबैसँग छलफल र सम्न्वय गरेर बजेट निर्माण गर्ने बताए। उनले कोभिडले थलिएको पर्यटनलाई आन्तरिक तथा बाह्य रुपमा प्रर्वद्धन गर्ने गरी बजेट निर्माण गरिनेसमेत बताए। 

बोर्डका अर्का नवनियुक्त सदस्य मिलन देवकोटाले पछिल्लो समय पर्यटन विस्तारै लयमा फर्किन थालेको उल्लखे गर्दै सबैको सहकार्यमा पर्यटनलाई पूर्ववत अवस्थामा ल्याउन पहल गरिने बताए। 

बोर्डका कार्यकारी प्रमुख रेग्मीले कोभिडपछि पर्यटनमा देखिएको समस्या समाधान गर्न बोर्डले हरतरहले काम गरिरहेको जानकारी दिँदै पछिल्ला दिनमा पर्यटक आगमनमा भएको बृद्धिले पर्यटन छिट्टै लयमा फर्किने आशा गर्न सकिने बताए। 

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डलले हालसम्म गरेका कामहरुको जानकारी दिँदै आउने दिनमा नयाँ स्रोत बजारको पहिचान गरी सम्भाव्यताको अध्ययनमा बोर्ड केन्द्रित रहेको बताए। 

सोही अवसरमा बोर्डले क्यानडामा नेपालको प्रवर्द्धनमा काम गरिरहेका बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि (एचपीआरआर) नरबहादुर टन्डनलाई पनिसम्मान गरिएको थियो।