काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

राजधानीमा एक कार्यक्रमकाबीच दुवै महासंघका अध्यक्षहरु मोहनकुमार सुनार र रमेश महर्जनले हस्ताक्षर गरेका छन् । 

दुई महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकीकरण अपरिहार्य रहेको भन्दै देशैभरका सम्बन्धित व्यवसायीका संघसंस्थाहरुलाई समेट्ने गरी एकीकरण गरेर लैजाने प्रतिबद्धता जनाएको छ । 

सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्याहरुलाई दिर्घकालीन रुपमा समाधान गर्न पनि एकीकरण आवश्यक रहेको व्यवसायीहरुको ठहर छ । 

व्यवसायलाई उद्यम व्यवसायको रुपमा बिस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नति, राजश्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासका लागि अब दुवै महासंघले एकीकृत रुपमा काम गर्ने पनि बताएका छन् । अबका दिनमा दुवै महासंघले यस क्षेत्रका जुनसुकै काम पनि संयुक्तरुपमा संचालन गर्ने जनाएका छन् । एकीकरण गर्ने सम्झौतामा हस्ताक्षर भएपनि कुन मितिमा दुई महासंघ एक हुने भन्नेबारे अझै खुलाईएको छैन ।