काठमाण्डौ । नेपाल टेलिकमले एसईईका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ। 

उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीले प्रवेशपत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ। सिम लिइसकेपछि स्टुटेन्ड रजिस्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशनबमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ।

उक्त स्टुटेन्ड रजिस्ट्रेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिनेछ। यसअनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ।

यो अफर भएको नयाँ सिममा बोसन अल रिचार्ज प्याकसमेत उपलब्ध गराइएको छ। यस प्याकमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ। 

विद्यार्थीले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुटेन्ड रजिस्ट्रेसन प्याक उपयोग गर्नका लागि प्रयोग गरिरहेको मोबाइलबाट *1600# मा डायल गरी प्राप्त निर्देशनबमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ। त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ र स्टुटेन्ड रजिस्ट्रेसन प्याकअनुसारका सुविधाहरु प्राप्त गर्न सकिनेछ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मेन व्यालेन्सका रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने योबाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन्। 

त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ। हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुनेछ।