काठमाण्डौ । नेपाल बैंक लिमीटेडले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा ३ अर्ब २६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.२९ प्रतिशतको प्रगति हो । 

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ रहेको छ । यसरी हेर्दा बैंकले १० प्रतिशत हाराहारीमा लाभांश वितरण गर्नसक्ने देखिन्छ । 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने घटेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४ अर्ब ३४ करोड रहेको यस्तो मुनाफा घटेर ४ अर्ब ११ करोडमा सीमित बन्न पुगेको हो । 

यस्तै, अघिल्लो वर्ष ६ अर्ब ४२ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ६ अर्ब ८८ करोडको उचाईमा पुगेको छ भने २.०५ प्रतिशतमा रहेको खराब कर्जाको अनुपातलाई घटाएर १.९० प्रतिशतमा सीमित गर्न बैंक सफल देखिएको छ । 

अघिल्लो वर्षसम्म १६ अर्ब ४१ करोडमा सीमित रिजर्बको आकार बढेर यो वर्ष १७ अर्ब ८१ करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिमा नेपाल बैंकले १ खर्ब ६२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब बढी कर्जा परिचालन गरेको थियो । समीक्षा अवधिमा भने १ खर्ब ९६ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब बढी कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्षको तुलनामा बैंकको प्रतिसेयर आम्दानी भने केही घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रु. २३.४३ रहेको इपीएस केही घटेर २२.४७ रुपैयाँमा सीमित भएको हो । 

समीक्षा अवधिमा बैंकको आधार दर ७.९९ प्रतिशत, सीडी रेसियो ८७.५७ प्रतिशत, कस्ट अफ फण्ड ५.९४ प्रतिशत, पीई रेसियो १३.१४ गुणा, सम्पत्तिमा प्रतिफल १.३७ प्रतिशत रहेको छ ।