काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा १७.५४ प्रतिशतको वृद्धि भएको छ। 

कम्पनीले सेवा व्यापारबाट ३७ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा झन्डै २ अर्ब रुपैयाँले बढी हो। अघिल्लो वर्ष कम्पनीले सेवा व्यापारबाट ३५ अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि बढेर ६ अर्ब ४३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी ६ अर्ब २७ करोड रुपैयाँ थियो। 

चुक्तापुँजी १८ अर्ब रुपैयाँ कम्पनीको रिजर्भ बढेर ७७ अर्ब ६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ७४ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीको ईपीएस बढेर ४६.५६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ३९.६१ रुपैयाँ थियो। पीई रेसियो १८.८८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८.१३ रुपैयाँ रहेको छ।