काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज भदौ ६ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत साउन २३ गतेबाट सवा ११ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।

कम्पनीले कुल ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर बिक्री राखेको छ। यसअघि पनि कम्पनीले गत असार १७ गतेदेखि असार २४ गतेसम्म संस्थापक सेयर लिलामीमा राखेको थियो। त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले पुनः लिलामीमा राखिएको हो। 

यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० अंकले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयका साथै प्रभु बैंकको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी शाखाका साथै नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रीय कार्यालय तथा बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखामा पेस गर्न सक्नेछन्।