काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दाबीभुक्तानी गरेको छ । 

यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो । 

नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी, र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथै अन्य शीर्षकजस्तै बीमाशुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोगबापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधाअन्तर्गत १५.९४ अर्ब कम्पनीले दावीभुक्तानी गरिसकेको छ । 

बीमित र बीमकबीचको करारबमोजिम जोखिमको क्षतिपश्चात वा अवधि समाप्तिपश्चातको रकम यथासमयमा भुक्तानी (दावीभुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभएको छ ।

अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्तिपश्चात भुक्तानी गरिन्छ भने मृत्युदाबी तथा अन्य क्षतिको दाबी बीमा अवधिभित्र जुनसुकै समयमा घटित घटनापश्चात भुक्तानी गरिन्छ, तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ । त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चितअवधिको अन्तरालपश्चात बीमा करारमा तोकिएबमोजिम रकम भुक्तानी गरिने गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बीमितहरुलाई छिटोछरितो चुस्तदुरुस्त तवरले दाबीभुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभर सातैवटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको छ ।