काठमाण्डौ । आर्थिक वर्ष २०७७–७८को लाभांश अनुमोदन गर्दै नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा पर्साको वीरगन्जस्थित होटेल भिष्वामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभामा अध्यक्ष संघईबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। 

लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ। 

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७–७८ को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको १५.७८९५% दरले हुन आउने रु. १ अर्ब २९ करोडबराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। 

आर्थिक वर्ष २०७८–७९का लागि एसएआर एसोसिएट्सलाई लेखापरीक्षकका रुपमा पुनर्नियुक्ति गर्दै सञचालक समितिले गरेको स्वतन्त्र सञ्चालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ। 

अध्यक्ष संघईले आर्थिक वर्ष २०७७–७८ को वार्षिक वित्तीय विवरण तथा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरुबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरिरहेको र कम्पनीको समग्र विकासका लागि प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सेयरधनीहरुको सल्लाह सुझावका लागि धन्यवाद दिए। उनले आफू कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी गराए। 

सभामा सेयरधनीबाट गत २१ औँ वार्षिक साधारणसभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ कायम भइसकेकोले सञ्चालक समिति गठनमा पनि सोहीबमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा छलफल हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको परिस्थितिलाई आत्मसाथ गरी आगामी वार्षिक साधारणसभामा सो विषयलाई अगाडि बढाइने कुरा जानकारी गराइयो।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी रु. १४९.७६ अर्ब गरिसकेको र जीवन बीमाकोषमा रु. १ खर्ब ४२ अर्ब ९ करोड सञ्चित भइसकेको जानकारी गराएको छ। यसका साथै कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।