काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आर्थिक वर्ष २०७८–७९को ११ औँ वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ। 

काठमाण्डौको होटेल क्राउन इम्पेरियल आयोजित सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ३८% बोनस सेयर वितरण गर्ने तथा बोनस सेयरको कर प्रयोजनका निम्ति २% नगद लाभांश पारित गरेको हो। योसँगै कम्पनीको चुत्तापुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रुपैयाँबराबरको हुनेछ। 

कम्पनीले पुँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेसनल पेमेन्ट स्विचअन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पुँजी प्रयोग गर्नेछ। 

गत आर्थिक वर्षमा कम्पनीबाट फर्छ्यौट भएका कारोबारहरुको संख्या ५७% ले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ४०%ले वृद्धि भएको छ। आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५% प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रतिशेयर रु.२५५ कायम भएको छ।   

नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरुमार्फत प्रवर्द्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ। 

राष्ट्रियस्तरको भुक्तानी तथा राफसाफको प्रणाली स्थापना तथा सञ्चालन गर्ने कम्पनीले एनसीएचएल–ईसीसी, एचसीएचएल–आईपीएस र आरपीएसलगायतका भुक्तानी प्रणालीहरुमार्फत आर्थिक वर्ष २०७८–७९ मा कुल १५७.५ खर्बबराबरको ७.०४ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो। 

कम्पनीले कनेक्ट आईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस तथा नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विच (आरपीएस) र नेपालपे क्यूआरलगायतका विभिन्न च्यानल प्लेटफर्महरु पनि प्रदान गर्दै आएको छ। आर्थिक वर्ष २०७८–७९ मा ५९ सदस्य बैंक तथा वित्तीय संस्थाका ६ हजार २१२ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ७३ गैरबैंकिङ संस्थाहरु इनडाइरेक्ट÷टेक्निकल मेम्बरका रुपमा आबद्ध छन्।