काठमाण्डौ । नेपाल उद्योग परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीच लगानी तथा व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ।
समझदारीपत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन्। दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदानलगायतमा सहकार्य हुनेछ।
काठमाण्डौमा आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इन्डियन च्याम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यावसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रवर्द्धनमा दुई संस्थाबीच सहकार्य हुने बताए।
इन्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताए।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इन्डियन च्याम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुवै संस्थाले लबिङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए।
कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ सदस्य समिति सभापति सन्दीप शारदा, महानिर्देशक दीपकराज जोशी, इन्डियन च्याम्बर अफ कमर्सका महानिर्देशक डा. राजीव सिंहलगायत सहभागी थिए।
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago