काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ। 

आज सोमबार आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवप्रसाद दाहालले संयुक्त रुपमा रिबन काटेर उक्त भवनको उद्घाटन गरेका हुन्। करिब ३२२० वर्गफिटमा फैलिएको भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, बीमा अभिकर्ता तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति थियो। 

उक्त सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहनेछ। 

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उपस्थित सबैलाई स्वागत गरेका थिए। 

उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षित भएको बताए। निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य सहरहरुमा घर–जग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको उनले जानकारी दिए। 

अग्रवालले २०७२  मा  संविधान जारी भएपश्चात नेपालले संघीयताको ढाँचा अवलम्बन गरेको र यसैलाई मूर्तरुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातैवटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको बताए। गण्डकी प्रदेशको साक्षरता दर, कुल ग्राह्यस्थ उत्पादनमा गरेको योगदानका लागि गण्डकी प्रदेशवासीलाई उनले धन्यवाद ज्ञापन गरे। बीमा क्षेत्रमा गण्डकी प्रदेशद्वारा गरिएको योगदानको उनले मुक्तकण्ठले प्रशंसा गरे। 

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा नेपालको जनसंख्याको करिब १० प्रतिशत जनतालाई जीवन बीमासम्बन्धी सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सूचकहरुका आधारमा अब्बल रहँदै आफूलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा नेपाल लाइफ स्थापित रहेको अग्रवालले बताए। 

शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए। प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रीय कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानीय ठाउँबाट प्रदान गर्नसके बीमा सचेतना बढ्न गई बीमाप्रति मान्छेको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए। 

बीमा क्षेत्रमा नेपाल बीमा प्राधिकरणले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा सबै सरोकारवालाहरुले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा दाहालले जोड दिए। 

कार्यक्रममा सञ्चालक समितिका सदस्य विमलप्रसाद ढकालले बीमा व्यवसाय आफ्नो सीमा आफैँ तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा प्रचूर सम्भावना भएको हुनाले आफ्नै गाउँ–ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरुका लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको बताए।

समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्य कृष्णराज लामिछानेले नेपालको सुन्दर नगरी पोखरामा कम्पनीले भवन लिई त्यस क्षेत्रका आम नागरिकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्न नेपाल लाइफ अग्रसर भएको देख्दा गौरवान्वित महसुस भएको बताए। नेपाल लाइफको काठमाण्डौ उपत्यका ाहिर पोखराको भवन पहिलो रहेको तथा यसले कम्पनीको विश्वसनीयता बढी बीमा बजारको विकासमा टेवा पुग्ने लामिछानेले बताए। 

हरेक घरमा एक बीमाको आवाधारणलाई मूर्तरुप प्रदान गर्नुका साथ–साथै गरिब, सीमान्तकृत समुदायलाई बीमाको दायराभित्र ल्याउनका निम्ति राज्यले बीमामैत्री नीति अवलम्बन गर्नुपर्नेमा लामिछानेले जोड दिए। 

उद्घाटन समारोहका सभापति तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण् रमण पराजुलीले पोखरामा घर खरिद गरी सेवा प्रवाह गर्नु रणनीतिक रुपमा एकदमै महत्वपूर्ण रहेको बताए। आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले प्रतिबद्धता गरे। 

नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतीका साथसाथै प्रशस्त अवसरहरुसमेत रहेको पराजुलीले बताए। प्रादेशिक कार्यालयको स्थापनासँगै प्रशासनिक कार्यहरुको विकेन्द्रीकरणसँगै सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे। 

प्रादेशिक कार्यालय हुनुले कार्यसम्पादन सहज हुन गई बीमा बजारको बजारीकरण, बीमा सचेतना तथा बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा हुने र ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफू ढुक्क रहेको पराजुलीले बताए। 

कार्यक्रमको सञ्चालन कम्पनीको गण्डकी प्रदेशका प्रमुख अनन्त अधिकारीले गरेका थिए।