काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्येकै टप कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४७ करोड ९२ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको बिमांकीय मूल्यांकन पश्चात प्राप्त हुने मुनाफा गणना नगरिएको नाफा हो । 

कम्पनीले समीक्षा अवधिमा १६ अर्ब बढी बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १२ अर्ब बढी बिमाशुल्क आर्जन गरेको थियो । 

नेपाल लाइफले पुनर्बिमा कमिसनबाट १ करोड ६४ लाख आम्दानी गरेको छ भने लगानी कर्जा तथा अन्यबाट ३ अर्ब ९७ करोड आर्जन गरेको छ । बिमालेखको धितोमा कर्जाबाट हुने आय ९० करोड ९८ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफले पुनर्बिमा कमिसनबाट २ करोड ४९ लाख, लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ५० करोड, बिमालेखको धितोमा कर्जाबाट ५१ करोड २६ लाख आम्दानी गरेको थियो । 

कम्पनीले समीक्षा अवधिमा ५ अर्ब ४३ करोड खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी २ अर्ब ८८ करोड मात्र थियो । 

हालसम्म यो कम्पनील ११ लाख ५२ हजार ८ सय ६० वटा बिमालेखाहरु जारी गरेको छ । अघिल्लो वर्षसम्म १० लाख ४१ हजार ८ सय ६९ बिमालेख मात्र जारी भएको थियो । यसरी एकवर्षमै कम्पनीले बिमालेखको संख्या समेत उल्लेख्य रुपले बढाएको देखिएको छ । 

नेपाल लाइफको जगेडाकोषको आकार ४ अर्ब ३४ करोडबाट खुम्चिएर ३ अर्ब ४७ करोडमा सीमित बन्न पुगेको छ भने ३९ अर्ब ५४ करोडमा सीमित जीवन बिमा कोष बढेर ५० अर्ब ४९ करोडको उचाईमा पुगेको छ । यस्तै, ३२ करोड ५४ लाखमा सीमित महाविपत्ति कोष जगेडा बढेर ३७ करोड ३३ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा नेपाल लाइफको प्रतिसेयर आम्दानी १०.९० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८७.५४ रुपैयाँ, पीई अनुपात ९६.३३ गुणा र औसत प्रतिफल दर १०.८३ प्रतिशत कायम भएको छ । बिमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा जोड्दा यी वित्तीय अनुपातहरु फरक पर्नेछन् ।